कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराेले क्षति पु¥याएको छ।
भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरुद्ध भएको थियो। जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो। पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको यात्रुले बताएका छन्। सडकमा दैनिक घण्टौ जाम भइरहेको छ।
पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले कालोपत्रेको काम अन्तिम चरणमा पु¥याए पनि पहिराले बढी क्षति पु¥याएको छ। पहिराेका कारण उक्त सडकमा झण्डै पाँच करोडको भौतिक संरचना ध्वस्त पारेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।
निर्माण व्यवसायीले उक्त खण्डको २४ किलोमिटरमा जम्मा दुई किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको थियो तर अहिले झण्डै एक किलोमिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा आएको र थप केही किलोमिटर सडक मर्मत गर्नुपर्ने आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिए।
भदौ १७ गतेदेखि अवरुद्ध राजमार्ग एक हप्तापछि खुले पनि अहिले कतै हिलो, कतै सवारी फस्ने त कतै जाम हुने गर्दा पर्वत खण्ड पार गर्न यात्रुलाई घण्टौ समय लाग्ने गरेको छ। सडकको अवरोध हटेको भोलिपल्टै चुवामा दुई घण्टा सवारी जाममा परेको मोटरसाइकल यात्रु राजन कार्कीले बताए।
पहिरो खसेर क्षति पु¥याएको सबै सडक कालोपत्रे भइसकेको थियो। अहिले उक्त सडक एकतर्फी हुँदा सवारी जाम हुने समस्या बढ्दै गएको छ।