संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
कार्की आफैंले ६ जनाको हत्या गरेको स्वीकारेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मारेको स्वीकारेका छन् । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हेपेर बोली ब्यवहार गरेकोले ज्यान लिएको कार्कीले स्वीकार गरेको बताइएको छ ।
तेजबहादुरको हत्या गर्ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको हत्या गरेको उनले स्वीकारेका हुन् ।
घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो ।
को हुन लोकबहादुर कार्की ?
२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेका थिए । स्थानीय चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्ष दिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।
६ बर्ष अगाडि मलेसिया गए पनि उनी १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएका थिए । त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएका थिए, कार्की ।
कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘मरेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहीँ पारा हो भने त मेरो पनि ज्यान जोखिममा रहेछ’, थापाले भने ।
गत चैत २६ गते आमा बितेपछि बुवा र भाईसहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । हत्या गरिएको तेजबहादुरको घरमा उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो ।
उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् ।
लोकबहादुरले उनका हजुरआमा ८४ वर्षीय पार्वता, ५८ वर्षी ठुलो बुवा तेजबहादुर, ५२ वर्षी ठुली आमा कमला, भाउजु ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ बर्षीय भतिजेनी गोमा कार्कीको हत्या गरेका थिए ।
हत्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएको जस्तो देखिने हतियारहरु प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो ।