सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
यस्तै नेकपा (एमाले)ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ ।
छलफलमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ ।
देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा हाल चार मन्त्री र एक राज्यमन्त्री छन् ।