एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग शुक्रबार गोप्य भेटवार्ता गरिन् ।
नक्सालस्थित होटेल मेरियटमा भएको उक्त गोप्य भेटवार्तालाई दुबै पक्षले दुई दिनसम्म गोप्य नै राखे । अन्ततः फतिमासँग ठाकुर र महतोले गरेको गोप्य भेटवार्ता आइतबार सार्वजनिक भयो ।
शुक्रबार भएको भेटलाई किन गोप्य राखियो भन्नेबारे दुबै पक्षले मुख खोलेका छैनन् । लोसपाका कार्यकारिणी सदस्य केशव झालेले भेट शुक्रबार भएको र फोटो आइतबार मात्रै सार्वजनिक भएको स्पष्टिकरण दिएका छन् । तर, उनले भेटलाई किन गोप्य राखियो भन्ने खुलाएका छैनन् ।
यसअघि एमसीसी टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवका साथै सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरूसँग भेटवार्ता गरेको थियो । सो क्रममा दुबै पक्षले भेटवार्ताबारे सबैै जानकारी दिएका थिए, कतिपयले प्रेस रिलिज नै निकालेका थिए ।
तर, एमसीसीकी उपाध्यक्ष सुमारसँग लोसपाका प्रमुख दुई नेताले गरेको भेट गोप्य राखियो । स्रोतका अनुसार ठाकुर र महतोले एससीसी संसदमा पेस भएमा संशोधन विनै पास गर्न सहयोग गर्ने फतिमालाई बचन दिएका छन् ।
हाल नेपालमा एमसीसीको व्यापक विरोध हुँदै आएको छ र दैनिक प्रदर्शन भइरहेका छन् ।
एमसीसीको विरोध भइरहेको अवस्थामा संसदमा पेस भएसंशोधन विनै एमसीसी पास गर्न सहयोग गर्ने बचन दिँदा आफूहरूको पनि विरोध हुने हुँदा ठाकुर र महतोले फतिमासंगको भेटलाई गोप्य राखेको स्रोतको दाबी छ ।
नेपालमा व्यापक विरोध भइरहेको एमसीसीको अन्य सबै दलले संशोधन वा सबैको सहमतिमा संसदबाट पास गर्नुपर्ने बताउँदै आएका छन् । तर, लोसपका दुई प्रमुख नेताले एमसीसी संशोधन विनै पास गर्न सहयोग गर्ने बचन दिएका हुन् ।
स्रोतले भन्यो, ‘एमसीसीकी उपाध्यक्ष फतिमालाई लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले एमसीसी संशोधन विनै पास गर्ने बचन दिएका छन् । त्यसका लागि सरकारले संसदमा पेस गर्नुपर्यो भनेका छन् ।’