एमालेभित्र फेरि विवाद सिर्जना भएको छ । सुदूरपश्चिम इन्चार्जका विषयमा एमालेमा विवाद सिर्जना भएको हो ।
सोही विवादको समाधानका लागि आइतबार बिहान एमाले उपाध्यक्ष डा.भीम रावल, नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, हाल सुदूरपश्चिम इञ्चार्ज रहेका लेखराज भट्ट, अध्यक्ष कर्ण थापा ओली निवास बालकोट पुगेका थिए ।
माओवादीसँग एकता हुनुअघि रावल सुदूरपश्चिम इञ्चार्ज थिए । तर, ओलीले पुसमा संसद विघटन गरेपछि आफूलाई साथ दिएका पूर्व माओवादी नेता लेखराज भट्टलाई सुदूरपश्चिम इञ्चार्ज बनाएका थिए ।
यसअघि एमाले विवादका समयमा १० बुँदे सहमति भएको थियो । सहमतिमा पार्टीलाई जेठ २ मा लैजाने उल्लेख छ । उक्त सहमतिअनुसार रावलले सिधैं सुदूरपश्चिम इञ्चार्ज हुनुपर्ने हो ।
तर, आइतबारको भेटमा ओलीले सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्जको भूमिकामा लेखराज भट्ट रहने बताएपछि रावल झस्किएका छन् । उनी निकट स्रोतका अनुसार आइतबार ओलीको भेटपछि रावल असन्तुष्ट छन् ।
आइतबारको भेटमा ओलीले रावलाई भनेका छन्, ‘तपाईंहरूको आ–आफ्नो जिम्मेवारी छ । काम अघि बढेन भन्ने कुरा आएको छ । लेखराज भट्ट इन्चार्ज हुनुहुन्छ । कर्ण थापा अध्यक्ष हुनुहुन्छ । तपाईंले उपाध्यक्षको हैसियतामा त्यसमा संयोजन गर्नुस् । जेठ २ मा जाने ढंगले काम अघि बढाइसकेका छौँ । त्यसमा समस्या छैन ।’
ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालीन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुनपर्ने अडान राखेका थिए । तर रावलले भने दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए ।
गएको १० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १० बुँदे अनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने र आफू सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने रावलले बताएका थिए । तर, ओलीले त्यसलाई नमानेपछि रावल असन्तुष्ट छन् ।
रावल निकट स्रोत भन्छ, ‘रावल स्वतः इञ्चार्ज हुनुपर्ने हो । तर ओलीले लेखराज भट्टलाई नै कायम राख्नेपछि रावल असन्तुष्ट हुनुहुन्छ । अब कसरी अगाडि बढ्ने भनेर रावल छलफलमा हुनुहुन्छ ।’