नेपालले आजदेखि आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिजमा नेपालले पहिलो खेल अमेरिकाविरुद्ध खेल्ने छ ।
नेपाल र अमेरिकाबीचको खेल अपरान्ह ४ः१५ बजेदेखि सुरू हुनेछ । दुवै टोलीले पीएनजीसँग दुइ÷दुई अभ्यास म्याच खेलेर त्रिकोणात्मक सिरिज खेल्न लागेका हुन् ।
खेल अल अमिरात मुख्य क्रिकेट मैदान ओमानमा हुनेछ । खेलको प्रत्यक्ष प्रशारण नेपालमा ‘एक्सन स्पोर्ट्स’ टेलिभिजनले गर्नेछ । भिपीएन प्रयोग गरेर आईसीसीको वेबसाइट आईसीसी डट टिभी तथा फ्यानकोड एपबाट शशुल्क लाइभ हेर्न सकिनेछ ।
पहिलो खेलमा अमेरिकाबिरुद्ध जित दर्ता गर्दै प्रतियोगितामा लय प्राप्त गर्ने लक्ष्य नेपालको छ ।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा १६ र अमेरिका १८ औं स्थानमा छ ।
दुई टिमबीच भएका पछिल्ला ५ खेलमा नेपाल ३ र अमेरिका २ खेलमा विजयी भएको छ ।
खेल अघि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिका राम्रो टिम रहेको र जित्न सजिलो नहुने बताएका छन् ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ ।
नेपाली टोली
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव छन् । घाइते भएका कारण उपकप्तान ऐरीले सिरिज गुमाएका छन् ।
यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छन् ।
विश्वकप लिग–२
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ ।
नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।
लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।