सभामुख अग्निप्रसाद सापकोटाद्वारा संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।
संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सभामुख सापकोटाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि सर्वदलीय बैठकमा बोलाएका छन् ।
तर, बैठकमा एमाले नजाने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सर्वदलीय बैठकमा दलको नेताका हैसियतमा पूर्वएमाले वरिष्ठ नेता माधव नेपाल समूहलाई बोलाइएको भन्दै एमालेले बैठक बहिष्कार गर्दै नजाने जनाएको छ ।
एमालेले नेपालसहित कारवाही गरिसकेका १४ जनाले संसदलाई कारवाही गरेको थियो ।
पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको र सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले बुधबार, शुक्रबार र आइतबारको बैठमा नारावाजी गर्दै अवरोध गरको थियो ।
सोमबारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाललाई आमन्त्रण गरिएको छ ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।