प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको अवरोधका बीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक २०७८ पारित भएको छ ।
एमालेको अवरोधकैबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।
त्यो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे ।
यसैबीच, बैठकले राष्ट्रिय सभाका पूर्व सांसद रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित राणको भदौ २६ गते काठमाडौंमा निधन भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक आउँदो भदौ ३० गते बुधवार बिहान ११ बजे बस्नेछ ।