आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा अमेरिकाविरुद्दको जवाफि व्याटिङमा उत्रिएको नेपाली टोलीले ठोस शुरुआत गरेको छ।
मध्यम लक्ष्य पछ्याउने क्रममा मैदानमा उत्रिएका युवा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेषले अर्धशतकिय साझेदारी पुरा गरेका छन्। यसक्रममा भुर्तेलले ३३ बलको सामना गर्दै १ छक्का २ चौकाको मदतमा ३३ रन बनाएका छन् भने शेषले २५ बलको सामना गर्दै १६ रन बनाएका छन्। याे समाचार तयार पार्दासम्म नेपालले ११ अाेभर खेल्दै विनाक्षती ५१ रन बनाएकाे छ।
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २ सय ३० रन बनाएको थियो। नेपाली बलरहरुसामु कमजोर देखिएको अमेरिकाको टोलीको लागि मोनन्क पटेलले भने शानदार शतकिय पारी खेलेका थिए।
विक्रम सोबको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट हुनुअघि मोनन्कले १ सय १४ बलको सामना गर्दै ४ चौका र १ छक्काको मदतमा १०० रन बनाएका थिए। मोनन्कबाहेक अमेरिकाका व्याटरहरु चल्न सकेनन्।
उसका लागि निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, करिमा गोरेले १५, स्टेभन टेलरले १४, नोसथुस केन्जीगेले १३, अभिषेक परदकारले १३ र जसकरण मल्होत्राले ११ रन बनाए।
नेपालका लागि विक्रम सोब, सन्दिप लामीछाने र सुशन भारीले २–२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए।