कुशल भुर्तेल र रोहित पौडेलको जिम्मेवार अर्धशतकको मदतमा अमेरिकाबिरुद्ध नेपालले ५ विकेटकाे शानदार जीत हासिल गरेको छ।
दुई सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ विकेटको क्षतीमा जीत हासिल गर्याे। नेपालकाे जितमा कुशल भुर्तेल, राेहित पाैडेल र बिनाेद भण्डारी नायक सावित भए। नेपालकाे जित सुनिश्चित गर्ने क्रममा पाैडेलले ८७ बलमा ३ छक्का र २ चाैकाकाे मदतमा ६२ रन बनाए भने भण्डारीले ४८ बलमा १ छक्का र २ चाैकाकाे मदतमा ३७ रन बनाए।
यसअघि रनमशिन कुशल भुर्तेलले सम्हालिएको खेल प्रदर्शन गर्दै पहिलो एकदिवसिय अन्तरराष्ट्रिय अर्धशतक पुरा गर्दै ८४ रनको पारी खेलेबका थिए। यसक्रममा उनले ९३ बलको सामना गर्दै ३ छक्का ३ चौका प्रहार गरे।
उनलाई अर्का युवा ओपनर आसिफ शेषले ४२ बलको सामना गर्दै २३ रन बनाएर साथ दिएका थिए। शेष १३ औँ ओभरको अन्तिम बलमा आउट भए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १५ बल खेल्दै १ छक्का र १ चौकाको मदतमा १७ रन बनाएर निसर्ग पटेलको बलमा एलबिडब्ल्यु आउट भए। यस्तै कुशल मल्ल पनि १ रनमात्र बनाएर आउट भए।
बलिङतर्फ अमेरिकाका नाेशथुस केन्जिगे र निसर्ग पटेलले २-२ विकेट लिए भने साैरभ नेत्रभाल्करले १ विकेट हात पारे।
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २ सय ३० रन बनाएको थियो। नेपाली बलरहरुसामु कमजोर देखिएको अमेरिकाको टोलीको लागि मोनन्क पटेलले भने शानदार शतकिय पारी खेलेका थिए।
विक्रम सोबको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट हुनुअघि मोनन्कले १ सय १४ बलको सामना गर्दै ४ चौका र १ छक्काको मदतमा १०० रन बनाएका थिए। मोनन्कबाहेक अमेरिकाका व्याटरहरु चल्न सकेनन्।
उसका लागि निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, करिमा गोरेले १५, स्टेभन टेलरले १४, नोसथुस केन्जीगेले १३, अभिषेक परदकारले १३ र जसकरण मल्होत्राले ११ रन बनाए।
नेपालका लागि विक्रम सोब, सन्दिप लामीछाने र सुशन भारीले २–२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए।