प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक–२०७८ स्वीकृत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।
बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।
सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।
विरोध
यसअघि एमालेले गत हप्ताको बुधबार, शुक्रबार र आइतबार पनि बैठक अवरुद्ध गरेको थियो ।
सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाका पूर्वसदस्य रुक्म शमशेर राणा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत सो शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । विसं २०४८ मा राष्ट्रियसभामा मनोनित सदस्य स्व राणा भारतका लागि पूर्वराजदूतसमेत थिए । उनी राष्ट्रिय खेलकूद परिषद्को पूर्वसदस्यसचिवसमेत थिए । उनको ८६ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको थियो ।
संविधानसभा सदस्य महतोको ७२ वर्षको उमेरमा यही भदौ २७ मा निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्काे बैठक आगामी असोज ४ गते बिहान ११ बजे बस्नेछ ।