नेकपा (माओवादी केन्द्र) भित्र गुटको राजनीति मौलाउँदै गएको छ।
मुल पार्टीमा देखिएको गुटगत राजनीतिको प्रभाव भ्रातृ संगठन अनेरास्ववियू(क्रान्तिकारी)मा समेत देखिन थालेको छ। क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ पर्साको वीरगञ्जमा हुन लागेको क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन जाने तयारीमा छन्।
पार्टीको जिल्ला कमिटीलाई समेत जानकारी नदिई आयोजना गर्न लागिएको सो सम्मेलनका कारण पार्टीमा बिवाद शुरु भएको छ। बुधबार बिहान ११ बजेदेखी शुरु हुने भनिएको सम्मेलन रोक्न पार्टीका केन्द्रिय सल्लाहकारसहितका नेताहरुले पार्टीको प्रदेश–२ कमिटी, क्रान्तिकारीको केन्द्रिय कार्यालय र क्रान्तिकारीको प्रदेश–२ कमिटीलाई पत्र लेखेका छन्।
पत्रमा पार्टीका केन्द्रिय सल्लाहकार जालिम मियाँ, प्रदेश–२ समिती सदस्यहरु छोटेलाल प्रसाद यादव, बाबुराम कौशिक, रामबाबु बैठा, संघिय सांसद शेष चाँद तारालगायत पर्सा जिल्ला समितीका सदस्यहरुले हस्ताक्षर गरेका छन्।
‘संकिर्ण मानसिकताका साथ केहि निश्चित व्यक्तिलाई मात्र संगठनको नेतृत्वमा राख्ने अभिप्रायले आयोजना भएकोले जिल्ला सम्मेलनको कार्यक्रम यथाशिघ्र स्थगन गरी संगठनलाई वृहत सहभागितामुलक बनाउन जोडदार माग गर्दछौ,’ पत्रमा लेखिएको छ।
सम्मेलनमा संगठनका केन्द्रिय अध्यक्ष तामाङनै सहभागी हुने खबर पाएपछी संगठनका नेताहरुले आक्रोश व्यक्त गरेका छन्। ‘अध्यक्षले नै गुटको राजनीतिलाई बढावा दिने काम गरिरहनुभएको छ,’ क्रान्तिकारीका एकजना नेताले भने, ‘यसले संगठनको अहित मात्र हुनेछ।'