काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनाता र कार्यकर्ता नभएर माओवादी पार्टीका शीर्ष नेताहरु नै बिग्रिएको टिप्पणी गरेका छन्।
मंगलबार पेरिसडाँडामा पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवस बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताहरु बिग्रिएको तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको बताए।
‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौँ। गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ।’ उनले भने।
साथै, पार्टीमा क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि रहेको उनले बताए। उनका अुनसार क्रान्तिका लागि लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्।
अध्यक्ष प्रचण्डले क्रान्तिकारी पार्टीमा नराम्रोसँग विचलन आएको पनि बताएका छन्। उनले भने, ‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौँ। वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ।’
पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको पनि उनले बताएका छन्।
‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ,’ उनले भने, ‘गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ।’