आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमगन टोली सातदोबाटोमा रहेको सेल्सबेरी सुपरमार्केट पुग्यो ।
टोलीले सेल्सबेरी सुपरमार्केटमा अनुगमन गर्न थाल्यो । अनुगमन गर्दै जाँदा सेल्सबेरी सुपरमार्केटले एक किलो भनि प्याकेजिङ गरेर राखेका चिनीको प्याकेटमा २० ग्राम कम तौल भेटियो अर्थात एक किलो चिनीमा ९८० ग्राम मात्रै भेटियो ।
विभागका प्रवक्ता शिवराज सेढाईंका अनुसार अनुमगनबाट सातदोबाटोमा रहेको सेल्सबेरी सुपरमार्केटले चिनीको तौलमा उपभोक्ता ठगी गर्ने गरेको खुलासा भएको छ ।
त्यसपछि विभागले सेल्सबेरीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिँदै पत्र काँटेको थियो । तर, चिनीमा उपभोक्ता गठी गर्दै आएको सेल्सबेरीले विभागको निर्देशन पनि मानेको छैन । विभाग स्रोतका अनुसार आइतबार दिइएको निर्देशन सेल्सबेरीले बुधबारसम्म अवज्ञा गरेको छ ।
सेल्सबेरीका जनरल मेनेजर सन्दिप प्रधानाङ्ग मिडियासँग बोल्नै चाहँदैनन् । त्यसबारे नेपाली पब्लिकले प्रतिक्रिया लिन खोज्दा उनी पन्छिए । सुरुमा राम्रोसँग कुरा गरेको उनले चिनीमा ठगीको विषयबारे प्रश्न गर्दा आफु बोल्न नमिल्ने ठाउँमा रहेको भन्दै पन्छिए र फोन काटे ।
विभागका अनुसार सेल्सबेरीलाई नाप तौलमा हुने ठगी सम्बन्धमा कारबाही गर्न लागिएको छ । सेल्सबेरीले निर्देशन अवज्ञा गरेको भन्दै छिट्टै कारवाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।