नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मुल ढोकाबाट सिंहदरबार बाजा बजाएर पस्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावपछि एमाले मुल ढोकाबाट सिंहदरबार बाजा बजाएर पस्ने बताएका हुन् ।
ओलीले गुटबन्दी मात्रै गर्ने माधवकुमार नेपाल पार्टीमा आवश्यक नभएको बताए ।
ओलीले भने, ‘‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छइन्जले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’
कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाएर देश समृद्ध बन्नै नसक्ने उनले दावी गरे । एमाले सरकारबाट बाहिरिए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियान जारी रहेको उनले चर्चा गरे ।
अलोकतान्त्रिक शक्तिहरुलाई जोडेर नेता नेपालले एमालेविरुद्ध षडयन्त्र गरेको ओलीले आरोप लगाए ।