सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरको अलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन भएको छ ।
नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान कार्यालयको उद्घाटन गरे ।
कार्यालय उद्घाटनपछि बोल्दै नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्ने बताए । ‘असोज ४ गते प्रतिनिधिसभाको बैठक बस्दैछ, आशा गरौं, एक हप्ताभित्र सरकार र सदनलगायत सबैको टुंगो लाग्छ’, उनले भने ।
अध्यक्ष नेपालले नेकपा (एस) देशभक्तिपूर्ण स्वाभिमानी शक्तिको रुपमा उभिने दाबी गरे । नेकपा एमालेमा वैचारिक विचलन आएको बताउँदै नेपालले नेकपा (एस) नविन सोच र मान्यताका साथ अघि बढ्ने बताए ।
नेपाल नेतृत्वको नेकपा (एस) क्षितिजको नयाँ चम्किलो ताराको रुपमा उदाएको र यसले आमनागरिक र युवा वर्गमा आशा देखाएको उनले बताए ।
पार्टी र आन्दोलनको रक्षामा सधै समर्पित हुने बताउँदै उनले राजनीतिक तथा सबै क्षेत्रमा देखिएको विकृति र विसंगति हटाउन दृढतापूर्वक उभिने बताए ।
यसैक्रममा, आगामी दिनमा सत्ता पक्षसँग सामेल भएरै अगाडि बढ्ने र सातै प्रदेशको सरकार सञ्चालनमा सहभागी हुने अध्यक्ष नेपालले बताए ।