सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
कम्पनीले दसौंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल यही असोज १ देखि आगामी कात्तिक २४ गतेसम्म सो पसल सञ्चालनमा ल्याएको हो । सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख तिलक सुनारले बताए ।खाद्य व्यवस्था कम्पनीले असोज १ देखि २४ कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न एक हजार क्विन्टल कोटा पाएको छ । सहुलियत पसल खुलेको पहिलो दिनमै १९ क्विन्टल छुट मूल्यमा खरिद बिक्री भएको शाखा प्रमुख सुनारले बताए ।
सहुलियत छुट मूल्यमा चामल खरिद गर्ने यहाँका स्थानीयवासीको भीडभाड हुने भएकोले बिक्रीवितरण गर्न शाखाले तालिका सार्वजनिक गरेको छ । आज चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मङ्गलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी एवं शुक्रबार तिला र सिञ्जाका लागि तोकिएको छ ।
बिहान १०ः०० बजेदेखि ३ः०० बजेसम्म, प्रतिव्यक्ति दुई बोरा (६० किलो) र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने खाद्य कम्पनी शाखाले जनाएको छ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।