खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकले बताए । उनका अनुसार सङ्क्रमितमध्ये दुई जना जिल्ला अस्पतालमा र बाँकी पाँच जना आफ्नै घरमा चिकित्सकको सहयोगमा उपचार गराइरहेका छन् ।
डेङ्गु रोगबारे उच्च सतर्कता अपनाउन र रोगको नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय अबलम्बन गर्न डाँ मल्लिकले सम्बन्धित पक्षलाई आग्रह गरे । एक्कासी लगातार ५–७ दिनसम्म उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्त श्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, पाँच÷छ दिनपछि शरीरमा बिमिरा आउने लगायतका शारीरिक समस्या देखिनु डेङ्गुको लक्षण भएको डाँ मल्लिकले बताए । डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु भएपनि कतिपय अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेलगायतका लक्षण पनि देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने साकेला गाउँपालिकामा पनि डेङ्गुका बिरामी भेटिएको समाचार स्रोतले जनाएको छ । गत वर्ष पनि यो सिजनमा खोटाङमा डेङ्गुका बिरामी भेटिने गरेको जिल्ला अस्पतालले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका हरेक गाउँमा अहिले रुघाखोकी तथा ज्वरोको बिरामी अत्यधिक रहेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जिल्ला अस्पतालमा उपचार गराउने आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको अस्पतालले जनाएको छ ।
भर्खरै स्तरोन्नतिको काम शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समेत समस्या भइरहेको बताइएको छ । अहिले जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दैनिक २०० को हाराहारीमा रहेको अस्पतालका प्रमुख डा. मल्लिकले बताए । जिल्लामा सञ्चालित दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पतालमा समेत बिरामीको सङ्ख्या उत्तिकै रहेको स्रोतले जनाएको छ ।
जिल्लामा सञ्चालित सरकार तथा सामुदायिक अस्पतालको सेवा भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ । लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका जिल्लाबासीलाई पन्ध्र शैय्यामा सञ्चालित एकमात्र सरकारी जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरु गरिएको छ ।
वि.सं. २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्यामा सञ्चालन गर्नका लागि पुरानो संरचनाका भवनहरु हटाएर नयाँ पक्की भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको हो ।