‘बाबु, ठूलो भएपछि तिम्रो के बन्ने सपना छ?’
युवापुस्तामाझ खुबै लोकप्रिय ब्यान्ड ‘पहेँलो बत्ती मुनी’का लिड भोकलिस्ट रोचक दाहाललाई सानोमा कसैले यो प्रश्न सोद्धा उनको कहिल्यै एउटा उत्तर हुँदैन्थ्यो। उनी कहिले आफ्नो डाक्टर बन्ने सपना छ भन्थे त कहिले इन्जिनियर, कहिले पाइलट त कहिले व्यापारी आदि–इत्यादि। मान्छे र प्रश्नपिच्छे फेरिरहने उनको उत्तरको सूचीमा गायक बन्ने सपना कहिल्यै परेन।
स्नातक पढ्दाताक साथीहरुसँग मिली ब्यान्ड बनाएर, ब्यान्डका लागि आफैँले गीत लेखेर, कम्पोज गरेर स्टेजमा प्रस्तुति दिँदासम्म पनि उनमा गायक बन्ने सोच थिएन।
तर, त्यो प्रस्तुतिपछि भने उनको जीवनको बाटो नै फेरियो, जीवनले ‘यूटर्न’ लियो।
गायकै बन्ने सोच नभए पनि रोचकलाई गीतसंगीतप्रति भने सानैदेखि विशेष रुचि थियो। र, उनमा यो रुचिको वीजारोपण उनी पढ्ने स्कुलमा भएको थियो।
काठमाडौंमै जन्मे–हुर्केका रोचकको कक्षा १० सम्मको अध्ययन ललितपुरस्थित ललितपुर निम्न माध्यमिक स्कुलबाट भयो। स्कुलमा गीतसंगीतको राम्रो माहोल थियो। गायन र वाद्यवादनको कक्षामा बस्नु अनिर्वाय थियो। उनले ती कक्षाहरुमा अलि शास्त्रीय संगीतका सरगम र अलि गीतार सिक्ने मौका पाए।
स्कुलमा बेलाबखत हुने कार्यक्रम र घरपरिवारमा उनी गाउँथे। साथी, शिक्षक तथा घरिपरिवारबाट यदाकदा तारिफ पनि पाउँथे। तारिफ पाउँदा उनी मक्खमात्र पर्दैनथे, अझ राम्रोसँग गाउनुपर्छ पनि सोच्थे।
यसरी स्कुल र घरमा गाउँदा–गाउँदै, बजाउँदा–बजाउँदै र संगीतमा हराउँदा–हराउँदै उनको स्कुले जीवन सकियो। तर, उनले अहिलेसम्म पनि संगीतमा लाग्नेबारे किञ्चित सोचेका छैनन्।
त्यो प्रस्तुति
कुरा सन् २०१३ तिरको हो, जतिबेला उनी ललितपुर हात्तीवनस्थित लिटिल एन्जल्समा स्नातक पढ्थे। कलेजमा बिशुद्ध रमाइलो गर्ने उद्देश्यले रोचकसहित पाँच जना साथीहरु मिलेर एउटा ब्यान्ड निर्माण गरेका थिए।
कलेजले ‘कलेज ब्यान्ड कन्पिटिशन’ गर्ने भयो। रोचकले प्रतियोगितामा भाग लिनेबारे साथीहरुसँग सल्लाह गरे। साथीहरुबीच सहमती जुट्यो। ब्यान्डले भाग लिने भयो।
प्रतियोगितामा एउटा आफ्नै र एउटा चाहिँ कभर गाउन पाइने नियम थियो। कभर गाउन त गाह्रो भएन नै आफ्नै गीतका लागि पनि समस्या भएन।
शान्त, लजालु तर हठी स्वभावका रोचक लेख्न र कम्पोज गर्नमा माहिर थिए। उनले शब्द कोरे र त्यसमा संगीत भरे। गीतको नाम राखियो, ‘विचित्र’।
ब्यान्डले प्रस्तुति दियो। ब्यान्ड प्रथम नै त भएन, तर सान्त्वना पुरस्कार स्वरुप १० हजार रुपौयाँ हात पार्यो। कतै गीत गाएर पैसा पाएको यो पहिलो पटक थियो। उक्त पैसाले उनलाई सोच्न बाध्य गरायो।
मनले अलि गम्भीर अनि अलि लोभी हुँदै तर्कना गर्यो– गीत गाएर पनि पैसा कमाउन सकिँदो रहेछ। अब म अलि गम्भीर र मेहनती भएर यसैमा आफ्नो भविष्य खोज्छु।
सम्पूर्ण ब्यान्डले संगीतमै आफ्नो भविष्य पहिल्याउने निधो गर्यो।
सांगीतिक प्रस्तुति हेर्नकै लागि पत्रकारिता
संगीतको नशामा उनी दिनप्रति दिन मधहोश हुँदै गए। उनी संगीतमा नशामा कति लीन भए भने, विभिन्न ब्यान्ड तथा गायकको प्रस्तुति हेर्न र उनीहरुसँग भेट्न पाइन्छ भन्ने लोभले नै उनी कला बिटको रिपोर्टिङ गर्न थाले, ‘इसिएस म्यागजिन’का लागि।
‘कन्सर्ट जान मन लाग्थ्यो। तर, गोजीमा सधैँ पैसा हुँदैन्थ्यो। रिपोर्टटिङ गर्दा निःशुल्क प्रस्तुति हेर्न र आर्टिस्टहरुसँग भेट्न पाउने भएपछि मैले यो काम सुरु गरेँ,’ केही दिनअघि ललितपुरस्थित उनकै डेरामा भेट्दा उनले सुनाए।
ती दिनहरु सम्झिएर रोचक थोरै नोस्टाल्जिक, थोरै भावुक र थोरै उत्साहित भए। उनले अगाडि भने, ‘अधिकांश कन्सर्टहरु राति हुन्थे। घर फर्किँदा सार्वजनिक यातायात चल्न छाडिसकेका हुन्थे। कन्सर्टमा घोक्रो फुट्ने गरी गाउँदा–गाउँदा र बुरुक बुरुक उफ्रँदा–उफ्रँदा गलिसकेको ज्यान फेरि हिँडेरै घर पुग्नुपर्दा दोब्बर गल्थ्यो। यसरी लत्रक्कै गलेको ज्यानले घर पुगिसकेपछि पनि आराम पाउँदैन्थ्यो। कार्यक्रमबारे लेख्नुपथ्र्यो।’ उनी मुस्कराए।
यो प्रक्रिया एक वर्षसम्म चल्यो। यसबीचमा उनले धेरै दिग्गज सर्जकहरुसँग भेटेर संगीतबोर धेरै कुरा सुन्ने, बुझ्ने, सिक्ने मौका पाए। अत्याधिक धपेडी भए पनि ती दिनलाई आफ्नो जीवनकै सुनौला दिन मान्छन् उनी।
लोडसेडिङ्ले जुराइदिएको नाम
संगीतको महासागरमा झन्झन् डुब्दै थिए उनीहरु।
कलेज सकिएपछि बेलुकीपख ब्यान्डका सदस्यहरु जम्मा भएर अभ्यासमा जुट्थे। विद्युत प्राधिकरणमा कलुमान घिसिङ जस्ता जिम्मेवार तथा निष्ठावान कर्मचारीको आगमन भइसकेको थिएन त्योबेला। कहिलेकाहीँ त १६ घण्टासम्म विजुली जान्थ्यो। तर, संगीतप्रतिको उनीहरुको अदम्य लगावलाई विजुली हुनु नुहुनले फरक पर्दैन्थ्यो। मैनबत्तीको मधुरो प्रकाशमा अभ्यास गर्थे।
ब्यान्डको नाम के राख्ने भन्ने विषयमा पनि कहिलेकाहीँ छलफल हुन्थ्यो। सबले आफूलाई मन परेको नाम भन्थे। तर, कसैबाट पनि चित्त बुझ्दो नाम सुझिरहेको थिएन। यसै क्रममा एकदिन रोचकको दिमागमा एउटा नाम फुर्यो– पहेँलो बत्ती मुनी!
‘हामीहरु सधैँ मैनबत्तीको पहेँलो प्रकाश मुनी बसेर अभ्यास गर्छौँ। हाम्रो ब्यान्डको नामै पहेँलो बत्ती मुनी राख्दा कस्तो होला?’ रोचकले साथीहरुसँग प्रस्ताव गरे।
प्रस्ताव सर्वसम्मतिले पारित भयो।
लोडसेडिङले ब्यान्डको नाम जुराइदिएपछि उनीहरु अझ मेहनती र सिरियस भएर काम गर्न थाले उनीहरु। ब्यान्डले पहिलो गीत रिलिज गर्यो, ‘बरी लै’ बोलको, सन् २०१६ को मार्चमा।
पहिलो गीत भएकाले ‘बरी लै’बाट धेरै आशा गरिएको थिएन। उनीहरुलाई त केवल ब्यान्डको नामबाट गीत रिलिज गर्नुथियो। तर, गीत बिस्तारै हिट हुँदै जान थाल्यो। स्रोताहरुबाट विभिन्न प्रकारका सकारात्मक प्रतिक्रिया पाउन थाले। यसले उनीहरुको उर्जा र कन्फिडेन्स ह्वात्तै बढाइदियो।
यतिबेलासम्म स्नातक पनि सकिइसकेको थियो। कलेज नभएपछि उनीहरुसँग अभ्यासका लागि यथेष्ट समय हुनथाल्यो।
ब्यान्ड एल्बमको तयारीमा जुट्यो। केही गीतहरु पहिल्यै तयार भइसकेका थिए। बाँकी गीतको तयारीमा रोचक तल्लीन भए।
तर, विडम्बना! ब्यासिस्ट दीपेश कुँवर र ड्रमर किरोज महर्जन उच्च शिक्षाका लागि विदेशिएपछि ब्यान्ड एक वर्ष नपुग्दै फुट्यो। ब्यान्ड फुटेसँगै उनीहरको एल्बम निकाल्ने योजना पनि तुहियो।
अस्थिरतादेखि स्थिरतातिर
ब्यान्ड फुटेपछि रोचकका दिनहरु कष्टकर बन्न थाले। उनलाई एकातिर अब फेरि कसरी ब्यान्ड ‘फर्म’ गर्ने होला भन्ने चिन्ताले गाँज्न थाल्यो भने अर्कातिर बाबुआमाको रातोदिनको ‘अब मास्टर्स जोइन गर, एउटा राम्रो जागिर गर्न थाल!’ भन्ने प्रेसरले सताउन थाल्यो।
उनलाई आफ्नो घर आफ्नो लाग्न छाड्यो, आफैँमाथि विश्वास हुन छाड्यो। सबैतिर निराशै निराशा मात्र देख्न थाले। उनको र ब्यान्डको अवस्था दिनप्रति दिन झन्झन् अस्थिर हुँदै गयो।
एउटा भनाइ छ नि, यदि हामीले सँच्चा मनले केही चाह्यौँ भने त्यसको पूर्तीका लागि सारा संसार हाम्रो पक्षमा उभिन्छ। उनको हकमा पनि त्यस्तै भयो। सँच्चा मनले संगीतमै केही गर्न चाहेको उनको मनोकामना पूरा भयो।
ब्यान्डमा नयाँ सदस्यहरु जोडिए, जुम्ल्याहा दाजुभाइ। ब्यान्डको नयाँ लाइनअप तयार भयो। लब क्षेत्रीले ड्रमर, कुश क्षेत्रीले ब्यासिस्ट, प्रवेश मगर र विक्रम बस्यालले गीतारिस्ट र रोचकले भोकलिस्टको भूमिका निर्वाह गरे।
फर्म भएलगत्तै ब्यान्डले कलेज प्रतियोगितामा गाइसकेको ‘विचित्र’ र त्यसको केही समयमै अर्को गीत ‘लोरी’ सार्वजनिक गर्यो। यी दुई गीत सार्वजनिक भएको एक वर्षपछि उनीहरुको सपना पनि पूरा भयो। अर्थात् ब्यान्डले सन् २०१९ मा ‘अस्थिर’ नामक आफ्नो पहिलो एल्बम सार्वजनिक गर्यो।
‘अस्थिर’मा समाविष्ट ८ गीतमध्ये केही पूराना र केही नयाँ छन्।
‘ब्यान्ड सुरु भएदेखि पहिलो एम्बल रिलिज गर्ने अवस्थासम्म पुग्दा हामीले धेरै उतारचढाव भोग्नुपर्यो,’ एल्बमको नाम अस्थिर राखिएको बारे उनी भन्छन्, ‘हाम्रो यहाँसम्मको यात्रा कहिल्यै स्थिर रहन सकेन, सधैँ अस्थिर रह्यो। त्यसैले, एम्बमको नामै अस्थिर राखियो।’
अनि अहिले नि?
हाम्रो प्रश्नमा उनी अट्टाहाँस गर्छन् अनि भन्छन्, ‘ब्यान्डले सदस्य अभावको समस्यामात्र झेल्नु परेन, आर्थिक अभावको समस्या पनि झेल्नुपर्यो। हाम्रो अवस्था दिमागमा केही कुरा लेख्न आएर त्यसलाई पोख्न कापी र कलम नपाएर छट्पटाइरहेको एउटा लेखकको जस्तो थियो। हामीसँग न अभ्यास गर्ने स्पेश थियो न गाउन, रेकर्डिङका लागि चाहिने औजारहरु नै थिए। धेरै एडभान्स स्तरको नभए पनि अहिले हामीलाई त्यो समस्या छैन। अहिले हामी स्थिरताको बाटोमा उन्मूख छौँ।’
यद्यपी गाएर मात्रै आफूहरुको जीविको नधानिने उनी बताउँछन्। भन्छन्, ‘अहिले हामी गाएरै बाँच्ने अवस्थामा पुगिसकेका छैनौँ। कोरोना कहरले अरुलाई जस्तै हामीलाई पनि गाह्रो बनायो। हामी सबै जना जीविकोपार्जनका लागि संगीतबाहेक अरु काम पनि गर्छौँ। म विभिन्न संस्थाका लागि फ्रिलेन्सिङ गर्छु।’
आफ्नै जीवनका उतारचढावका कथाहरु
ब्यान्डका हरेक गीतमा उनले आफ्नै जीवनका उतारचढाव समेटेका छन्। जीवनका भोगाइ, उतारचढाव र दर्शनलाई टपक्कै टिपेर त्यसमा संगीत भरेर स्रोतामाझ पस्कनमा बडा माहिर छन् रोचक।
पहिलो गीत ‘बरी लै’ उनले कलेज पढ्दाखेरि नै लेखेका हुन्। त्यसताका उनी एकदमै विक्षिप्त थिए। उनलाई आफैँमा विश्वास थिएन। आफू मायाका लागि योग्य नभएको जस्तो लाग्थ्यो उनलाई।
‘विचित्र’मा उनले आफ्नै घरपरिवारमा सिर्जित तनावपूर्ण माहोलको चित्रण गरेका छन्। उनको घरपरिवारमा विभिन्न धर्ममा आस्था राख्ने मानिस छन्। फरक धर्ममा आस्था राखेकै कारण उनीहरुबीच वैमनस्यतामात्र नभएर, तनावपूर्ण माहोल नै सिर्जाना हुन्छ। एकआपसमा
जोड्न सहयोग गर्नुपर्ने कुराले एकअर्कालाई विभाजन गरिरहेको छ।
‘धर्म धर्म भन्दै लाश बिछ्याउँछौ
भन न मानिस कसरी तिमी रातमा निदाउँछौ?'
‘लोरी’ उनले भान्जी जन्मिएपछि उनलाई उपहार स्वरुप लेखेको गीत हो।
त्यस्तै, केही दिनअघि मात्रै रिलिज भएको ‘म बाटो हिँडेझैँ’मा पनि उनले आफैँभित्रैको उकुसमुकुस उतारेका हुन्।
‘म बाटो हिँडेझैँ कतै गइरहेछु सधैँ
थोपा थोपा जम्मा भइ सागर बनेन अझै’
उनलाई एक समय आफू निरन्तर हिँडिरहे पनि गन्तव्यमा पुग्न नसकिरहेको भान हुन्थ्यो। उनलाई लाग्थ्यो– जति मेहनत गरे पनि त्यसले सार्थकता पाइरहेको छैन।
तर, उनी गीतको रचनागर्भबारे कसैलाई भन्दैनन्। यसमा उनको तर्क छ– गीतको पृष्ठभूमीबारे भनिदिँदा स्रोतहरुले आफ्नै तरिकाले सोच्न पाउँदैनन्।
अडियन्सबाट नसोचेको माया
अडियन्सबाट आफूहरुले अपेक्षा गरेभन्दा पनि बढी माया पाइरहेको बताउँछन् उनी। यस सन्दर्भमा एउटा रमाइलो किस्सा सुनाउँछन् उनी।
कुरा गत मार्चको हो। कोराना संक्रमण कम हुँदै गएपछि सरकारले पहिलो लहरको कोरनाको रोमथामका लागि जारी गरेको लकडाउन हटाएको थियो। यसै समयमा ब्यान्डले पहिलो पटक ‘नेपाल टुर’ गर्ने मौका पायो, धरान, झापा, विराटनगर र इलाममा।
उनीहरुलाई लागेको थियो– हाम्रो ब्यान्डको प्रभाव यी ठाउँमा त्यति राम्रो छैन, दर्शकको खासै साथ पाइँदैन।
तर, नतिजा सोचेविपरीत आयो।
‘भ्यालीमा मात्रै पर्फम गरिरहेका हामी पहिलो पटक भ्याली बाहिर जाँदै थियौँ। तर, राम्रै संख्यामा अडियन्सहरु उपस्थित थिए र उनीहरुले हाम्रो गीत मज्जाले गाइरहनुभएको थियो।’ रोचकले ती क्षणहरु सम्झिए।
यो घटनापछि ब्यान्डलाई थप उर्जा मिलेको छ।
ब्यान्डसँग बिस्तारै अडियन्सहरु जोडिइरहेका छन्। उनीहरुलाई गत वर्ष प्रस्तुतिका लागि विदेशबाट प्रस्ताव आएको थियो, तर कोरोनाका कारण शो हुन सकेन।
लाइभ शोमा रमाउने उनीहरु अब छिट्टै विभिन्न सांगीतिक प्रस्तुति मार्फत अडियन्ससँग जोडिन पाउनेमा एकदमै आशावादी छन्।
कसैलाई पछुतो छैन
जे होस्, जानी नजानी संगीतसँग जोडिएका मनमौजी रोचक आज आफू जे गर्दैछन्, भएका छन्, जहाँ छन् त्यसमा कुनै पछुतो छैन। बरु एकदमै खुसी छन्।
उनको परिवारलाई पनि छोरोले हिँड्ने निधो गरेको बाटोप्रति कुनै पछुतो छैन। कुनै समय छोरो संगीतमा गएकै कारण चिस्सिएको छोरा र अधिवक्ता बाबुको सम्बन्ध आज संगीतकै कारण फेरि जोडिएको छ, सुमधुर भएको छ।
यद्यपी बाबुले उनलाई अहिले पनि सोधिरहन्छन्– एउटा राम्रो र सेक्युर जागिर कहिले गर्छस्?
यद्यपी आमाले उनलाई अहिले पनि सोधिरहन्छिन्– मास्टर्स कहिले गर्छस्?
आफू संगीतमा लागेकोप्रति प्रत्यक्ष रुपमै नभने पनि अप्रत्यक्ष रुपमा बाबुआमा आफूप्रति गर्वान्वीत भएको उनको तर्क छ।
‘आमा मलाई सानैदेखि डाक्टर बनोस् भन्ने चाहनुहुन्थ्यो। अहिले पनि कहिलेकाहीँ उहाँ बिरामी हुँदा भन्नुहुन्छ– तैले डाक्टर भएको भए आज मलाई यति गाह्रो हुने थिएन,’ उनले सुनाए, ‘नत्र अरुबेला चाहिँ मलाई सधैँ तँलाई मैले टिभीमा देखेको थिएँ, रेडियोमा सुनाए, फलानोले तेरो गीत गाउँदै, तेरा बारेमा कुरा गर्दै थियो भन्नुहुन्छ।’
उनी थप्छन्, ‘म यो बाटो हिँडेर बर्बादै भएको भए सायद उहाँहरुको मप्रति गुनासो हुन्थ्यो होला। तर म नबने पनि नभत्किएकाले उहाँहरु मेरो चिन्ता गर्नुहुन्न।’
उनकी बहिनी रचना दाहाललाई त उनीप्रति गर्वमात्र होइन, उनी स्वयं पनि दाजु हिँडेकै बाटोमा हिँडिरहेकी छन्। रचनाका ‘भूमरी’, ‘सोच’ लगायत चार गीत युट्युबमा रिलिज भइसकेका छन्।
आफ्नो एकल निर्णयले संगीतमा आएका रोचक आफूले सक्दासम्म संगीत गर्ने योजनामा छन्।