कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ ।
सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले अब एक दुई दिनभित्रै व्यावसायिक उडान गरिने जानकारी दिए ।
संस्थाले सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई एकदिने सचेतना तालिमसमेत प्रदान गरेको जानकारी दिए । संस्थाका महासचिव बलराम आचार्यले उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको बताए ।
उनका अनुसार प्रशिक्षण कार्यक्रममा पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतम र नेपाल नागरिक उड्डयन प्राधिकरणका सेप्टी स्ट्यान्र्डड विभागका कार्यालय प्रमुख राजु श्रेष्ठ, सिनियर प्रबन्धक देवन्द्रप्रसाद पाण्डे, अफिसर महेश अर्यालले उडान सुरक्षासम्बन्धी प्रशिक्षण दिएका थिए । साहसिक खेलका रुपमा ब्राण्डिङ भएको प्याराग्लाइडिङ पोखरामा सन् १९९९ देखि व्यावसायिक उडान शुरु भएको हो । प्याराइडिङको पोखरामा ६० कम्पनी रहेका छन् भने ३५० प्यारा पाइलट छन् । विदेशी प्यारापाइलट भने करिब १५ जना रहेका छन् । झण्डै रु एक अर्बको लगानी यस क्षेत्रमा छ भने एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै प्याराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छुट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए ।
छुटसँगै प्याराग्लाइडिङ गर्न पोखरा आउने आन्तरिक पर्यटकको सङ्ख्या निकै बढेको थियो । रु पाँच हजारदेखि रु आठ हजारसम्म शुल्क लिइँदै आएकामा पछिल्लो समय रु २५ सयदेखि रु तीन हजारमा उडान हुँदै आएको थियो । अब सञ्चालन हुने उडानमा कति शुल्क लिने भन्ने विषयमा टुङ्गो लागिनसकेको र व्यवसायीबीच छलफल गरेर मात्र शुल्क निर्धारण गर्ने तय गरिएको महासचिव आचार्यले जानकारी दिए ।