मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्कीलाई सोमबार सार्वजनिक गरेको हो । पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् ।
सङ्घीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालका अनुसार घटनाको मुख्य योजनाकार खड्गबहादुर हुन् । उनीहरुले तेजबहादुरको हत्या गर्न सामूहिक योजना बनाएका थिए ।
पक्राउ परेका उनीहरुले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने, सधैँ गालीगलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।
एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले सार्वजनिक गरिसकेको थियो ।
मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।