नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति गरेर माधवकुमार नेपालको साथ छाडेका तेस्रो धारका १० नेतालाई सरकार विस्थापित गर्ने योजनाकार रहेको आरोप लगाएका छन् ।
सोमबार स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकारहरू रहेको आरोप लगाएका हुन् । साथै, उनले तेस्रो धारका नेताहरु नेकपालाई सके कब्जा नभए विभाजित गर्ने पुष्पकमल दाहालको अभियानका सारथी रहेको पनि आरोप लगाएका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘विभाजनका योजनाकारहरू नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वका विरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए । यिनीहरू नै २०७२–७३ मा सञ्चालित नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकारहरू थिए र नेकपालाई सके कब्जा नभएर विभाजित गर्ने पुष्पकमल दाहालको अभियानका सारथी पनि ।’
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नेकपा (एमाले) नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्थ गर्न, प्रदेशहरूमा एमाले सरकारलाई विफल पार्न, पार्टीका उम्मेदवारहरूलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीहरूको सेवामा समर्पित गर्न यी व्यक्तिहरूबाट भएका गतिविधि सार्वजनिक नै छन् ।’
१० बुँदे सहमति गर्नेहरुमा माधवकुमार नेपाल निकट रहेका उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत रहेका थिए ।