पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमध्ये २२ हजार ३२३ सक्रिय संक्रमित हुन् । सक्रिय संक्रमितमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना भेन्टिलेटरमा १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
सोमबार थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । हालसम्म ९५.८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.४ प्रतिशत रहेको छ ।