नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो दाबी गरेका हुन् ।
उनले नयाँ बन्ने सरकारलाई स्वागत गर्नका लागि तयार रहन पनि आग्रह गरे । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गर्दै नेपालले भने, ‘एक र वागमती प्रदेशमा मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् ।’
उनले प्रदेश २, कर्णाली र सुदूरपश्चिममा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवाद दिए ।
नेपालले एमालेबाट आफुहरूले विद्रोह गरेकोलाई पिलो निचोरिएर जस्तो आनन्द भएको भन्ने अध्यक्ष ओलीको भनाइको जवाफ फर्काए ।
नेपालले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरू गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’