आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ ।
सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । २४ वर्ष प्रवेशसँगै यतीले जेट स्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ ।हालै यतीले आफूसँग रहेको पाँच वटा विमान बिक्री गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यतीले आफ्नो भगिनी संस्था तारा एअरसहित सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ ।
स्थापनाको सुरुआती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए ।