काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनाएको बताएका छन्। मंगलबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली केशरजंग रायमाझी पथमा हिँडेपछि विद्रोह गरेर नयाँ पार्टी बनाएको बताए।
‘विद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्दो रहेछ। केशरजंग रायमाझीले कम्युनिस्ट आन्दोलनको विसर्जन गरेका थिए। नेकपा एमाले पार्टी रहेन गुट क्रियाशिल भए। मदन भण्डारी फाउन्डेसनका नाममा गुट बन्यो। नेकपामा पनि त्यो रोग सर्यो। नेकपा कब्जा गर्न खोजियो। सत्तामा पुगेपछि चरम दुरुपयोग भयो। विस्तारै जनतामा सरकार आलोचनाको विषय बन्दै गयो। राष्टियता लोकतन्त्र र समाजवाद भडिन थालेपछि बजेट र नीति र कार्यक्रम अघि बढेपछि समस्या भयो,’ उनले भने, पार्टीको समस्या समाधानका लागि कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरिएपछि विद्रोह गर्यौँ।’
उनले अहिले आफूहरू सम्मानजनक हैसियतमा रहेको पनि बताए। ‘षडयन्त्र अनेक भएका थिए हामीले चक्ना चुर बनायौँ। त्यसैले अहिले मुलुकमा गठबन्धनको सरकार छ। प्रदेश सभामा पनि हामी सुदूर र २ मा ठुलो दलको रूपमा छौँ। कर्णालीले विद्रोहको ज्वाला दन्काएको थियो। ३ मा पनि संसदीय दलको नेता चुनुरे सरकार बनाउन तमतयार हुनुभएको छ। लुम्बिनीमा खाता खोल्न सफल भएका छौँ। गण्डकीको भेलामा गरेका थियौँ, त्यहाँ कार्यालय खोलेर व्यवस्थित तरिकाले काम अगाडि बढेको छ,’ उनले भने।
आफूहरू यथास्थितिवादी नभएको दाबी गर्दै उनले दलाल पुँजीवादको विरोध गर्ने बताए। ‘हामी रास्ट्रिय पुँजीलाई जोड दिन चाहान्छौँ। दलाल पुजिवादको विरोध गर्ने छौँ। विज्ञान प्रविधिमा जोड दिने छौँ। समावेशिताको मान्यतामा अघि बढनेछौँ। काम गर्नेलाई प्रोत्साहन गर्ने छौँ। युवालाई प्रोत्साहन र पाकाको सम्मान गर्ने छौँ,’ उनले भने।