काठमाडौं– सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ। बुधबार साँझ गठबन्धनको बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ। बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको भने छैन। आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ।
मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो। उक्त बैठकमा माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए। सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने काँग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ।
यता गठबन्धन घटक नेकपा एकीकृतको केन्द्रीय समिति बैठक पनि जारी छ। काँग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकेर गठबन्धनको बैठक बस्न लागेको हो।