चिनमा एमबिबिएस अध्ययन गरिरहेका विद्यार्थीहरुले इन्टर्नसिपको व्यवस्था मिलाउन माग गरेका छन्।
कोरोना महामारीका कारण इन्टर्नशिप गर्न नपाउँदा आफ्नो भविष्य अन्यौलमा परेको भन्दै उनीहरुले तत्काल इन्टर्नशिप गर्ने व्यवस्था नमिलाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। यस विषयमा बारम्बार शान्तिपुर्ण आन्दोलन गर्दा पनि सरकारले आफ्नो मागहरुको बेवास्ता गरेको विद्यार्थीहरुले गुनासो गरेका छन्।
चिन सरकार र सम्बन्धित विश्वविद्यालयले नै मिलेसम्म आफ्नै मुलुकमा इन्टर्नशिप गर्न सुझाव दिएको जानकारी दिदैँ विद्यार्थीहरुले सरकार यस विषयमा गम्भिर नदेखिएको बताए। उनीहरुले भनेका छन्, ‘विभिन्न सम्बन्धित निकायमा पटक–पटक लिखित निवेदन तथा मौखिक कुराकानी गरिरहेको अवस्थामा अहिलेसम्म हाम्रो मागला्रई नजरअन्दाज गर्दै आइरहेको महशुश गरेका छौ।’
सरकारले यथाशिघ्र आफ्ना मागहरु पुरा नगरे उनीहरुले सशक्त आन्दोलन शुरु गर्ने र आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितीको जिम्मेवार स्वयम् सरकार नै हुने चेतावनीसमेत दिएका छन्।