स्यानीटरी प्याडमा सरकारले कर वृद्धि गरेपछी चौतर्फि विरोध भइरहेको छ।
सडक र सामाजिक सञ्जालमा यसको चर्को आलोचना भइरहेको देखिन्छ। यसैविच युवाहरुको समुह आम युवाले शनिबार काठमाडौंमा स्यानिटरी प्याड बाँडेर साङ्केतिक विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।
सरकारमाथी दबाब सृजना गर्ने र आम नगरिकलाई सचेत गराउने उद्देश्यले प्याड वितरण गर्ने तयारी गरिएको अभियन्ता ज्वाला संग्रौलाले जानकारी दिइन्। ‘नुन देखि सुन सम्म, तेल देखि प्याड सम्म बढेको करको बोझले जनताको ढाड भाँच्चिन लागिसक्यो,’ उनले भनिन्, ‘यो ज्यादतीबिरुद्द अब हरेक घरका आमाहरु, काकीहरु, भाउजुहरु, दिदीहरु, बहिनीहरु अनि छोरीबुहारीहरु किन नबोल्ने?’
अभियन्ता संग्रौलाले प्याडलाई निःशुल्क बनाउनुपर्ने समेत बताएकी छन्। ‘हामी प्याडमा कर बढ्यो की बढेन भन्ने बहसमा मात्र अल्झिएका छौ,’ उनले थपिन्, ‘महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने प्याड त सरकारले निःशुल्क नै गर्नुपर्छ।’
प्याडमाथि कर लगाएर सरकारले आम महिलाको स्वास्थ्यमाथी खेलवाड गरेको अर्का अभियन्ता सोम शर्माले बताए। ‘रचनात्मक ढङ्गले सरकारमाथी दबाब सृजना गर्ने आम युवाको प्रयास हो,’ उनले थपे, ‘प्याड निःशुल्क बनाउने सवालमा हरेक घरका सदस्यहरुले आवाज उठाउन भन्ने हाम्रो चाहना हो।’
कार्यक्रम शनिबार दिउसाे २ बजेदेखी रत्नपार्कबाट शुरू हुने बताइएकाे छ।