सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो ।
विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।
विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।