भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा गरेका हुन् ।
गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उनीहरुका बीचमा पहिलो पटक भौतिकरुपमा भेटवार्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनीहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले जनाएको छ ।
‘प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ, त्यसलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिँदै धन्यवाद दिनुभएको छ’, वक्तव्यमा लेखिएको छ ।
भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले भेटवार्तामा उनीहरुले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्वन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ । त्यस्तै, उनीहरुबीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे पनि छलफल भएको बताइएको छ ।
मोदी बुधवार अमेरिका गएका थिए । उनले क्वाड शिखर सम्मेलन र संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएका छन् ।
तीन दिने अमेरिका भ्रमणका क्रममा उनले अन्य देशका शिर्ष नेतासँग पनि भेटवार्ता गरेको विदेश मन्त्रालयले जनाएको छ ।