अफगानिस्तानको हेरात सहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको विवरण प्राप्त भएको छ ।
तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो ।
एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन् । समाचारसंस्था एपीलाई प्रत्यक्षदर्शीले हेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको आफूले देखेको बताएका छन् ।
त्यहाँ पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीले एपीलाई बताएअनुसार उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको थियो ।
हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका ती मानिसलाई फेला पारेको र गोली हानाहानमा उनीहरूको मृत्यु भएको जनाएका छन् । ‘हामीले अरू अपहरणकारीलाई चेतावनी दिन तिनका शवलाई हेरातका चोकहरूमा झुन्ड्यायौँ’, उनले भनेका छन् ।
सामाजिक सञ्जालमा प्रेषित बीभत्स तस्बिरमा एउटा पिकअप ट्रकको पछाडिपट्टि रक्ताम्मे शवहरू राखिएको र एउटा क्रेनले एउटा शव उठाइरहेको देखिन्छ ।
अर्को एउटा भिडिओमा एक व्यक्तिको शव झुन्ड्याइको र उनको छातीमा ‘अपहरणकारीहरूलाई यसरी दण्ड दिइन्छ’ लेखिएको देखिन्छ ।
गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएपछि तालिबानले पहिलाको जस्तो कठोर नभई अलि नरम शासन गर्ने बताउँदै आएको छ । तर देशका विभिन्न स्थानबाट मानवाधिकार उल्लङ्घन गरिएका अनेकौँ विवरण प्राप्त भएका छन् । बीबीसी