एक दुई दिनमै सरकारलाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच सहमति भएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उक्त सहमति भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलसँग मन्त्री बन्नेहरूको नाम माग गरेका थिए । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेत्री तथा सांसद दुर्गा पौडेलले सरकार विस्तारमा ढिलाइ भएको भन्दै देउवाले मन्त्री बन्नेहरूको नाम मागेको जानकारी दिइन् ।
गठबन्धनको छलफलमा सहभागी जसपा नेता महेन्द्र राय यादवले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने, गठबन्धनलाई दीगो बनाएर लैजानेलगायतका कुराकानी भएको जानकारी दिए ।
त्यस्तै, बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशलाई निष्कृय बनाउने विषयमा पनि कुराकानी भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित थिए ।
देउवा प्रधानमन्त्री बनेको लामो समयसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म एक राज्यमन्त्रीसहित कांग्रेसबाट चार र माओवादीबाट २ गरी छ जना मात्रै मन्त्री छन् ।