पर्वत– धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ। स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले बन्द गरिएको विश्वज्योतिका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिएका छन्।
सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेकामा सातापछि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेकाले अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गरिएको उनले बताए। अहिले पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी छन्। विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ। सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको नभएका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको प्रधानाध्यापक तिमल्सिनाले बताए।
अहिले झण्डै ५० विद्यार्थी बिरामी भएकाले सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको वडाध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए।
भाइरल जरो र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले सजगता अपनाउन विद्यार्थीलाई भनिएकाले उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा जचाएर औषधि सेवन गरिरहेको प्रधानाध्यापक तिमिल्सिनाले बताए। जिल्लामा असोज १ देखि विद्यार्थीकै उपस्थितिमा पढाइ गरिएको थियो। जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ। अहिले जिल्लाभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात रहेको र ७५सङ्क्रमितको मृत्यु भइसकेको छ।
रासस