प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् ।
असोज २० गते बस्ने प्रदेश सभाको विशेष अधिवेशनमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेश सभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार छ । १०४ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा सत्तारूढ जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन् । जसका कारण मुख्यमन्त्री राउतले सहजै विश्वसाको मत पाउने अवस्था छ ।