मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक पिपलाडी गाविस–३ हाल शुक्लाफाटा नगरपालिकाका ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जोशीले स्थानीय एक महिलालाई ललाइफकाइ बेचबिखन गर्न भारतको नयाँ दिल्ली पुर्याएका थिए । ती महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो ।
फरार अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जिल्ला अदालत समक्ष पेस गरेको र अदालतले अभियुक्तलाई सजाय भुक्तानका लागी कारागार चलान गरेको छ ।