इन्टर्नशिप गर्ने व्यवस्था मिलाउन माग गर्दै चिनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले बुधबार माइतीघर मण्डला पुगेर प्रदर्शन गरेका हुन् ।
बुधबार शिक्षा मन्त्रालयले एक सूचना जारी गर्दै सन् २०१५ ब्याचमा भर्ना भएर हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमा इन्टर्नशिप गर्ने व्यवस्था गरिने जनाएको थियो । आन्दोलनरत विद्यार्थीहरूले मन्त्रालयको विज्ञप्ति खारेज गर्न माग गरेका छन् । उनीहरुले उक्त विज्ञप्ति खारेज गर्दै सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीलाई इन्टर्नशिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
सन् २०१५ मा नेपाल मेडिकल काउन्सिलबाट चीनमा अध्ययनको अनुमति लिएका पनि इन्टर्नशिप गर्ने व्यवस्था मिलाउन आन्दोलनरत विद्यार्थीहरूले माग गरेका छन् । आन्दोलनरत विद्यार्थीहरू सन् २०१५ र २०१६ ब्याच हुन् ।
कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप पुरा गर्न नपाएका विद्यार्थीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । बारम्बार ताकेता गर्दा पनि सरकारले आफ्नो माग सम्बोधन नगर्दा भविष्य अन्यौलमा परेको उनीहरूको गुनासो छ ।