काठमाडौं — एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत विराटनगर वारियर्सविरुद्ध भैरहवा ग्लाडियटर्स ६ विकेटले विजयी भएको छ ।
विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
उसका लागि उपल थरंगाले अविजित ३४, प्रदीप ऐरीले २२, तमिम इकबाल, रोहितकुमार पौडेलले १२÷१२ र कप्तान शरद भेषवाकरले नटआउट ६ रन बनाए ।
बलिङमा रामनरेश गिरीले दुई, करण केसी र बसन्त रेग्मीले एक÷एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।
उसका लागि दिलशान मुनावीराले २५, सुमित महर्जनले १३, आसिफ शेख, अनिल साहले ११–११ र बसन्त रेग्मीले अविजित १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा आरिफ शेख, धम्मिका प्रसादले दुई/दुई, अविनाश बोहराले दुई, दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक/एक विकेट लिए ।
जारी सिजनमा भैरहवाको यो पहिलो जित हो । पहिलो खेलमा वर्षा बाधक बनेपछि अंक बाँडिएको थियो ।
विराटनगरको भने यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा चितवन टाइगर्सविरुद्ध हार बेहोरेको थियो ।