प्रदेश नं.२ का प्रमुख प्रतिपक्षी दलले प्रदेश सरकारमाथि नैतिक संकट आइपरेकोले सोबारे उचित निर्णय गर्न मुख्यमन्त्री लालबाबु राउत गद्दिलाई आग्रह गरेको छ।
प्रमुख प्रतिपक्षि दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले नेपाली पब्लिकसंग कुरा गर्दै भ्रष्टाचारको गम्भीर आरोप लागेको सरकारले यसबारे प्रष्ट पार्नुपर्ने बताए।
मुख्यमन्त्री कार्यालयबाटै सञ्चालन हुने महत्वकाक्षी परियोजनामाथि भ्रष्टाचारको आरोप लाग्नु भनेको प्रदेशकै अपमान हुनु सरह भएकोले यसबारे सरकारद्धारा जनतालाई सत्यतथ्य जानकारी दिन सोनलले आग्रह समेत गरेका छन् ।
‘बेटी (छोरी) को नाममा सञ्चालित आयोजनामै भ्रष्टाचार हुनुभनेको लाजमर्दो हो’, सोनलले भने- ‘यसको निष्पक्ष छानबिन हुनुपर्छ र दोषिलाई कठघरामा उभ्याउनुपर्छ।’
प्रदेश सरकारको काम कार्वाहीबारे बिभिन्न सञ्चारमाध्यममा आएको जानकारीलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मार्नु गलत नभएको भन्दै सोनलले मुख्यमन्त्री तथा उनको कार्यालयले अख्तियारलाई आफ्नो काम गर्न दिन आग्रह समेत गरे।
‘अख्तियार एक ओभरसाईड बडि हो’, सोनलले भने, ‘उसको निष्पक्षतामाथि प्रश्न खडा नगरी मुख्यमन्त्रीले सहयोग गर्नुपर्दछ ।’
बेटी पढाउ, बेटी बढाउ योजनाअन्तर्गत साइकल खरिददेखि कर्मचारी नियुक्तिसम्ममा अनियमितता देखिएको र सोबारे आम नागरिकमा व्यापक चासो रहेकोले सोको निष्पक्ष छानबिन आवश्यक रहेको सोनलले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित प्रादेशिक कार्यालयको टोलिले बुधबार जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा छापा मारी साइकल खरिद सम्बन्धि दस्तावेजहरु नियन्त्रणमा लिएको थियो ।