प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ ।
बिहीबार बिहान बसेको बैठकले उक्त आग्रह गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
बैठकमा संसदलाई मर्यादित र निर्वाद चलाउन प्रमुख प्रतिपक्षी दल एमालेबाट सकारात्मक सहयोग मिल्ने विषयमा छलफल भएको प्रवक्ता कार्कीले बताए । कार्कीले एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको आरोप पनि लगाए ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रधानमन्त्री देउवाले संसदमा देखिएको गतिरोध अन्त्य गर्न अग्रसरता लिनुपर्ने बताए ।
छलफलमा प्रधानमन्त्री देउवाले आज एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा नआए पनि फेरिफेरि आफूले बोलाउने र त्यसबेला बैठकमा आएर ओलीले आफ्ना कुरा राख्ने विश्वास व्यक्त गरे ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी बेदुराम भुषाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको उपस्थिति रहेका थिए ।
बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको थियो ।