स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ ।
जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे नगरपालिका वडा नं १ को घाटगाउँमा बस्दछन् । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरु छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरुसँग समन्वय भइरहेको जनाएको छ ।
अति लापोन्मुख यो समुदायमा हाल १४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।बाह्रौँँ राष्ट्रिय जनगणनाअन्तर्गत यही भदौ ३० गतेदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य असोज १८ गतेसम्म हुनेछ । घरधुरी, घरपरिवार तथा कृषिसम्बन्धी विवरण सूचीकरण गर्ने चार दिनमात्र बाँकी रहँदा सुपरीवेक्षकहरु राउटे बस्ती पुगेका छैनन् । वनगाड कुपिन्डे नगरपालिका–१ की सुपरीवेक्षक राजकुमारी खत्रीले राउटे समुदायको घरपरिवार तथा घरधुरी सूचीकरण कार्य अन्तिममा गर्ने तयारी भइरहेको बताए ।
सुपरीवेक्षक खत्रीले राउटे समुदायको घरपरिवार तथा घरधुरी सूचीकरणका लागि सो समुदायसँग नजिकका व्यक्तिबाट सहयोग लिन पर्ने भएकाले त्यसका लागि दैलेखको गुराँस गाउँपालिकाले दुई सहजकर्ता परिचालन गरेको छ । राउटेहरु आफूले विश्वास गरेको एवं परिचित व्यक्तिसँग मात्र आपसमा कुराकानी गर्ने गर्दछन् । यो समुदाय अझै आफ्नो वास्तविक विवरण बताउन तयार छैनन् ।
राउटेहरु ‘आफ्नो सङ्ख्या गन्नु हुँदैन, टाउको गन्नुहुन्न, पाप लाग्छ’ भन्ने मान्यतामा विश्वास गर्छन् । यही मान्यताका कारण यसअघिका जनगणनामा राउटेको यकिन विवरण आउन नसकेको हो । विसं २०५८ र २०६८ को जनगणनामा राउटेको सङ्ख्या यथार्थभन्दा बढी देखाइएको राउटे अभियानकर्मीको आरोप छ । यी गणनामा राउटेको सङ्ख्या ५०० भन्दा बढी भएको उल्लेख थियो ।
जिल्ला तथ्याङ्क कार्यालयका सहायक जनगणना अधिकारी कुमारी सीता तिमिल्सेनाले यसपटकको गणनामा राउटे समुदायको वास्तविक विवरण सङ्कलन हुने बताउनुभयो मेरो गणना–मेरो सहभागिता’ भन्ने नाराका साथ यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य जनगणना कार्य सम्पन्न हुनेछ ।