संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्केका छन् ।
महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुग्नुभएका उनले सभालाई सम्बोधन गर्दै समकालीन विश्वका प्रमुख मुद्दाहरूमा नेपालको धारणा, कोभिड–१९ महामारीले सिर्जना गरेको सङ्कट र यसको निदानका लागि खोपमा सहज पहुँच, स्वास्थ्य सामग्रीको सहज उपलब्धता, जलवायु परिवर्तन, हिमाली राष्ट्रका समस्या र दिगो विकासका सम्बन्धमा नेपालका चासो, तिनको परिपूर्तिका लागि साधनस्रोतको व्यवस्था, नेपालजस्ता भूपरिवेष्टित र अतिकम विकसित राष्ट्रका साझा समस्या, मानवअधिकार, आतङ्कवाद तथा निशस्त्रीकरणबारे नेपालको दृष्टिकोण प्रस्तुत गरेका थिए ।
उनले भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
परराष्ट्रमन्त्रीले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घबीचको सहयोगात्मक सम्बन्धबारे विचारविमर्श गरेका थिए । अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि सहभागी भएका थिए ।
मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।