नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई संवादमा आउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठक एमाले अध्यक्ष ओलीले बहिष्कार गरेका थिए । उक्त विषयमा ट्वीट गर्दै शर्माले ओलीलाई सुसंस्कृत राजनीतिबारे सुझाएका छन् ।
ओलीलाई मेन्सन गर्दै लेखिएको ट्वीटमा शर्माले भनेका छन्, ‘सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मंचबाट असहिष्णु बात गर भन्दैन ।’
उनले सर्वदलीय बैठकमा फरक मत राख्न र साझा मत निर्माणको प्रयत्न गर्न सकिने बताएका छन् ।
उनले द्वन्दको हल हठ नभएको भन्दै संवादले खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गतिरोधले गिराउँदो छविप्रति गम्भीर बन्न ओलीलाई सचेत गराएका छन् ।