इन्टर्नशिप गर्ने व्यवस्था मिलाउन माग गर्दै आन्दोलनरत चिनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले शिक्षा मन्त्रालयको सूचना जलाएका छन् ।
२०१५ र २०१६ एमबीबीएस ब्याचका विद्यार्थीहरुले बिहीबार माइतीघर मण्डलामा शिक्षा मन्त्रालयको सूचना जलाएका हुन् ।
बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै सन् २०१५ ब्याचमा भर्ना भएर हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमा इन्टर्नशिप गर्ने व्यवस्था गरिने जनाएको थियो ।
तर, चिनियाँ भाषाबाट अध्ययन गरेका विद्यार्थीले इन्टर्नशिप गर्न नपाइने चिकित्सा शिक्षा आयोगका डा.दिलिपले बताएपछि सन् २०१५ ब्याचमा विद्यार्थीहरु पनि आन्दोलित भएका हुन् ।
आन्दोलनरत विद्यार्थीहरूले मन्त्रालयको विज्ञप्ति खारेज गर्न माग गर्दै जलाएका हुन् । उनीहरुले उक्त विज्ञप्ति खारेज गर्दै सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीलाई इन्टर्नशिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
इन्टर्नशिप गर्ने व्यवस्था मिलाउन माग गर्दै चिनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।
कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप पुरा गर्न नपाएका विद्यार्थीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । बारम्बार ताकेता गर्दा पनि सरकारले आफ्नो माग सम्बोधन नगर्दा भविष्य अन्यौलमा परेको उनीहरूको गुनासो छ ।
शिक्षा मन्त्रालयले जारी गरेको सूचना र विद्यार्थीको माग (हाइलाइट गरिएको)