नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिले लड्न र मर्न जान पाइएन भनेर रुनेहरू अहिले मन्त्री पाइएन भनेर रुन थालेको बताएका छन् ।
बिहीबार काठमाडौंमा अखिल क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘जनयुद्दमा अग्र मोर्चामा जान नपाउँदा रुने, लड्न जान र मर्न जान पाइएन भन्ने हामी अहिले पद र पैसा पाइएन भने रुने भयौं । मन्त्री पाइएन भने रुने भयौं ।’ उनले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने सम्भावना अझैं रहेको बताए ।
लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प
उनले संसद् विघटन गर्नुको उद्देश्य संविधानमा भएका प्रगतिशिल कुरा उल्ट्याउनु रहेको आरोप लगाए ।
उनले ५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरे । आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनले बताए ।
भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उनले सुनाए । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भने, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’
यसो भन्दैगर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’
उनले अब एमालेको नेतृत्व रहेको बागमती र प्रदेश १ को सरकार पनि ढल्ने बताए । उनले भने, ‘छोड्ने कुरा छैन, गणतन्त्र विरोधी तत्वलाई तह लगाएर मात्रै रोकिन्छौं ।’
निर्वाचन प्रणली बदल्नुपर्ने
उनले अहिलेको निर्वाचन प्रणली बदल्नुपर्ने बताए । अहिले दलाल र पुँजीपति वर्गले मात्रै चुनाव लड्न सक्ने र जनताले चुनाव लड्न नसक्ने अवस्था रहेको भन्दै निर्वाचन प्रणली बदल्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिले दलाल र पुँजीपति वर्गले मात्रै चुनाव लड्न सक्ने छ, जनताले चुनाव लड्न सक्ने अवस्था छैन । हालत खराब भइसक्यो । हामीले पूर्ण समानुपाति निर्वाचन प्रणाली चाहियो भन्यो भने हामी जित्छौं । लाखौं जनता सकडमा आउँछन्, अनि हाम्रो जित हुन्छ ।’
उनले जनयुद्दका शहीदलाई राष्ट्रिय शहीदलाई घोषणा गर्न लागिएको बताए ।