साँखु, ६ फागुन - काठमाडौँको कागेश्वरी मनोहरामा यही फागुन ७ गतेदेखि हुने चौथो कागेश्वरी पर्यटन महोत्सव आयोजनाको तयारी पूरा भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको नामकरणसमेत गरिएको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी धामको प्रवर्द्धनका लागि विगत ४ वर्षदेखि आयोजना हुँदै आएको यस पर्यटन महोत्सवमा विभिन्न प्रस्तुति रहनेछन्।
महोत्सवमा स्थानीय तामाङ संस्कृति र स्थानीय उत्पादनहरूको प्रदर्शन तथा प्रवर्द्धन गरिनुका साथै विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति पनि रहनेछ।
स्थानीय जनताको घरमा खेर गएको कवाड सङ्कलन गरेर २ सय ४५ किलो कागजको प्रतिमा स्थापना गरेको सोही स्थानमा यो महोत्सवपश्चात् १ हजार किलोको नेपालकै सबैभन्दा ठूलो कागजको प्रतिमा स्थापना गर्ने उद्देश्य रहेको प्रदेशसभा सदस्य रामेश्वर फुयालले जानकारी दिए।
काठमाडौँ उपत्यकाका उत्तरी पर्वतहरूको प्रवर्द्धन गर्ने तथा सोही स्थानमा महोत्सवमार्फत विभिन्न स्थानीय उत्पादनको जगेर्ना तथा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ।
सो स्थानबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्न सकिन्छ। सूर्योदय र सूर्यास्तको दृश्यबाट मनोरञ्जन लिन पनि साे स्थान उपयुक्त रहेको छ भने यहाँ विभिन्न प्राकृतिक सम्पदा पनि रहेका छन्। (रासस)