लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
उनले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताए ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीचमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारसँग हातेमालो गरी समृद्धि प्रदेश निर्माणका लागि दत्त चित्त भएर लाग्नका लागि अनुरोध गरे ।
उनले खानी एक स्थानमा र उद्योग अर्को स्थानमा भएकाले गर्दा लागत रकम धेरै लागेको हुने भएकाले गर्दा त्यसलाई सकेसम्म न्यूनीकरण गर्नुपर्ने र वातावरणीय क्षतिलाई पनि ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्री केसीले आर्थिक वर्षमा उद्योग तथा आपूर्ति मन्त्रालयबाट ५ अरब राजश्व जसरी भए पनि सङ्कलन गर्नुपर्ने बताउँदै त्यसका लागि उद्योगमैत्री ऐन निर्माण गर्न सकिने बताए । उद्योगहरू मर्ज गरी एकीकृत योजना बनाएर अगाडि बढ्नु पर्ने बताउँदै साना उद्योगभन्दा पनि ठुला उद्योग सञ्चालन गर्नुपर्ने अहिलेको माग रहेको बताए ।