सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन्।
चुनाव नगरी सवसम्मतीमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछी पार्टीले स्थायि कमिटी बैठकबाट नेतृत्वको टुङ्गो लगाएको हो। ६ जना दावेदारहरुविचको सहमतीमा एकजनालाई नेतृत्व दिने तयारी भएपनि सहमती नजुट्दा यो विषयमा पार्टीको स्थायि कमिटी नै संलग्न भएको हो।
यसैको लागि शनिबार पार्टीको स्थायि कमिटी बैठक समेत बसेको थियो। बैठकमा अधिकांश नेताहरुले उपाध्यक्ष पञ्चा सिंहलाई नेतृत्व दिनुपर्ने बताएका थिए। सोहिअनुरुप पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षमा पञ्चा सिंहको नाम प्रस्ताव गरेको माओवादीनिकट श्रोतले जानकारी दिएको छ।
सिंहको पक्षमा जनार्दन शर्मा ‘प्रभाकर’, पम्फा भुषाल, मातृका यादव, शक्ति बस्नेत लगायतका नेताले लविङ गरेको एक विद्यार्थी नेताले जानकारी दिए।
आइतबार बिहान अध्यक्षका प्रत्यासीहरुलाई खुमल्टार बोलाएर पार्टी अध्यक्ष प्रचण्डले नयाँ नेतृत्वबारे जानकारी गराउँदै विद्यार्थीसँगठनबाट बाहिरिने नेताहरुलाई पार्टीमा समेट्ने जानकारी गराएको श्रोतले जानकारी दिएको छ।
महासचिव पदमा भने पवन कार्की चयन हुने प्रवल सम्भावना रहेको बताइएको छ।