मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको लागि खरिद गरेको साइकल सार्वजनिक खरिद ऐन अनुसार भएको प्रष्ट पारेका छन् ।
प्रदेश सभा बैठकमा विपक्षी दलका प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जबाव दिदैँ मुख्यमन्त्री राउतले इ–विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दावी गरे । उनले साइकल खरिदमा अनियमितता भएको भनि विभिन्न पक्षबाट उठाइएको प्रश्न पूर्वाग्रही रहेको बताएका छन् ।
दुई चरणमा खरिद गरिएको साइकल मध्ये पहिलो चरणमा ओम सत्य साइ प्राली पर्सा रु ५७०० , सान्यो इन्टरनेशनल जेभी काठमाडौ रु ७५७६ , द डिजाइनर्स नेपाल जे भि भरतपुर रु ६८३१ , म्याप इन्टरप्रिन्युर्स काठमाडौ रु ६१५०, र विकास जेनरल ट्रेडिङ्ग रु ८५०१ कवोल गरेकोमा न्युन्तम कबोल गर्ने ओम सत्य साइ प्राली पर्सालाई टेण्डर दिइएको तथ्यांक उनले बैठकमा प्रस्तुत गरेका थिए । त्यसै गरि दोस्रो चरणमा गरिएको टेण्डरमा ओम सत्य साइ प्राली पर्सा ले रु ७५०० , सान्यो इन्टरनेशनल जेभी काठमाडौ रु ७४७५ कबोल गरेको तथा म्याप हेलिक्स जेभिको कबोलमा प्राविधिक त्रुटी देखिएकोले न्युनतम कबोल गर्ने सान्यो इन्टरनेशनल जेभी काठमाडौ संग सम्झौता गरि खरिद गरिएको बताए ।