शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिने नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका लागि प्राथमकिता दिने बताएका हुन् ।
मन्त्री पौडेलले सोहीबमोजिम कार्य गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री पौडेलले भने, “सरकारले पढ्दै, कमाउँदै भन्ने कार्यक्रम पनि ल्याएको छ । शिक्षालाई देश र जनताको हितमा उपयोग गर्न दातृ निकायसँगको समेत सहयोग लिएर रोजगारमूलक बनाउन नीतिगत पहल गर्न आवश्यक छ । त्यसमा म र मन्त्रालयका तर्फबाट काम हुनेछ ।
सङ्घीय शिक्षा निर्माण लगायत विद्यमान आवश्यकता र समस्याका लागि मेरो ध्यान जानेछ ।” मन्त्री पौडेललाई मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायत उच्च कर्मचारीले स्वगत गरहेका थिए ।मन्त्री पौडेलसँगै नवनियुक्त राज्यमन्त्री बोधमायाकुमारी यादवले पनि आज मन्त्रालयमा बहाली गरे ।